Wednesday, March 29, 2023

farewell

सुरुवात हो यो कहानीको अन्त्य नसोच्नु है

बाटो कठिन भए पनि यात्रा नमोड्नु  है 

प्रयास हो कहिले काँही असफल हुन् सक्छ 

एकफेर लड्दैमा आत्मबिश्वास नतोड्नु है 


जित्ने नै हो आखिरमा ढिला चाँडो होला बरु 

खट्ने हो खप्ने हो आफ्नो मेहेनत नरोक्नु है 


बिस्तारै बिस्तारै अघि बढे पक्कै गन्तब्यमा पुगिन्छ 

SYLLABUS र चिन्ताको भारी सँगै नबोक्नु है 


exam मा गर्दा गर्दै कुनै answer बिग्रे पनि 

हतार हतारमा त्यो answer नकोर्नु है 


उज्यालो भविष्य छ इज्जत छ प्रतिष्ठा छ 

त्यसैले,नामको अगाडी CA नराखी नछोड्नु है 


आशिर्बाद छ, शुभकामना छ सुन्दर भविष्यको लागि 

TEAMS CA ले बिर्स्यो भन्ने कहिल्यै नसोच्नु है !!






Sunday, January 15, 2023

संवाद

 


उस्ले सोधी, "को हौ तिमी ?"
"तिम्रो हुन नसकेको मान्छे",
रोक्न खोज्दा खोज्दै पनि 
अनायासै निस्केको शब्द ,

"के रे ?" 
उस्ले सुनेर पनि नसुने जस्तो गरि गरेको प्रश्न ,
"बाटो बिराएको मान्छे",
मेरो सच्चिएको जवाफ,
जति सजिलै मेरो उत्तर बदलियो 
त्यति सहज उस्ले बिर्सेझैँ गरि 
मेरो पहिले उत्तर ,

"किन बाटो बिरायौ त ?"
"जानी जानी बिराएँ "
"कसरी ?"
"सायद आफ्नो घर खोज्दै थिएँ",
"तिम्रो घर यता हो र ?"
"त्यसैले त जानी जानी बाटो  बिराएँ "

त्यसपछिको मौनता ,
सन्नाटा,
आँखा जुध्न पनि नसक्ने 
नहेर्न पनि नसक्ने 
कस्तो अवस्था 
कस्तो परिवेश ,

"सन्चै छौ?"
मौनता भंग गर्ने उसको प्रश्न 
"अब सन्चो भयो "
"बिरामी थियौ ?"
"सायद रोगी थिएँ कि ?"
"एकै कुरा होइन र ?"
"शरीर बिरामी अनि मन रोगी हो कि?"
"के भयो र मनलाई ?"
"अब सन्चो भयो "

छेउ न टुप्पोको संवाद ,
केवल मौनता तोड्ने संवाद,
छुटिन चाह नहुँदा को 
जवर्जस्ती को संवाद 
जुटाउने संवाद 
छुटाउने संवादहिनता ! 

"देखेर खुसि लाग्यो"
म"लाई कि मेरो हालत लाई ?"
सायद मेरा यस्तै प्रश्नहरु दोषी थिए,
उसको बोली बन्द गर्न 
जबर्जस्तीको बोलि फेरी
बोल्न सकिन ऊ ,

"जान्छु ल "
"सोधेर जाने बानि पनि छ तिम्रो ?"
यसपाली सोधेर गई 
तर न जवाफ नै कुरी 
न जवाफ नै फर्काइ 

~~~madan sky (15/01/2023)

Wednesday, August 10, 2022

नियति

बाँच्ने त्यहि नमर्दा सम्म न हो
फेरी पनि मरि मरि बाँच्नु पर्ने
खै कस्तो नियति यो ??


हाँस्न खोज्दा आँखा रसाउने
संसारकै दुख एउटै भाग्यमा अटाउने
रुँदै रुँदै हास्नु पर्ने भो
खै कस्तो नियति यो ??


उ बेलाका कुरा सम्झिदै रमाउनु पर्ने
यो बेलाका कुरा ~ पुर्पुरै समाउनु पर्ने
आफ्नै अगाडी सम्हालिन नसकेको उ
अरुका अगाडी सम्हालिनु पर्ने भो
खै कस्तो नियति यो ??


देख्नेले के भन्ला सुन्नेले के सोच्ला
उसले सबैको बारे सोच्नु पर्ने भो
सायद जिउने नै अरुकै निम्ति हो
खुम्चिएरै जिन्दगि बित्यो
तर आकाश नाम उसको
खै कस्तो नियति यो ?? Madan 'SKY'

Saturday, August 29, 2020

यदि मैले मेरो जिन्दगि बेचिदिएँ भने

यदि मैले मेरो जिन्दगि बेचिदिएँ भने
किन्न को आउला
कतिमा किन्ला
कता लैजाला ?
मेरो जिन्दगिलाई जिउँदो राख्ला
या मारिदेला
मेरो आँखालाई खुल्नदेला
या टालीदेला
यदि मैले मेरो जिन्दगि बेचिदिएँ भने !!

यदि मैले मेरो जिन्दगि बेचिदिएँ भने
मेरो नयाँ जिन्दगि कस्तो होला
फेरिएला वा उस्तै होला 
दुखको थुप्रो होला 
वा सुख जस्तै दुरुस्तै होला
हाँसोको मेला होला 
दुखको ठेला होला 
माया र सम्मान होला
घृणा र अपमान होला 
खै के होला ..
यदि मैले मेरो जिन्दगि बेचिदिएँ भने  !!

किन्नेले के सोचेर किन्ला 
मलाई देख्न किन्ला 
कि मलाई बेच्न किन्ला 
के मलाइ साहारा बनाउला 
कि आफ्नो आहारा बनाउला 
म बाट तृप्त होला ?
आफ्नो साम उठाउला 
मलाइ कतै लुकाउला ?
कि आफ्नो तलुवामा बिछाउला 
यदि मैले मेरो जिन्दगि बेचिदिएँ भने  !!

यदि मैले मेरो जिन्दगि बेचिदिएँ भने
किन्नेका लागि सायद ब्यर्थ हुनेछु 
महँगो मा किनेको सस्तो माल हुनेछु 
उत्तर बिनाका सवाल हुनेछु 
त्यसैले त 
यदि मैले मेरो जिन्दगि बेचिदिएँ भने
स्टिकर लागएर बेच्ने छु आँफुलाई 
र लेख्नेछु 
"साबधान 
तपाइको जिन्दगीको लागि हानिकारक हुन् सक्छु !!"






Monday, August 17, 2020

अलिकति ~ अलि धेरै !!

अलिकति टाउको दुख्दा 
अलि धेरै डर लाग्छ 
कतै हजुरसँग जिउने 
मेरा अमूल्य सपनाहरुलाई 
पनि दुख्छ कि भनि !!

अलिकति ज्वरो आउँदा 
अलि धेरै डर लाग्छ 
कतै मेरो मुटुभरिको 
हजुरको माया 
मैन सरि पग्लिन्छ कि भनि !!

अलिकति टाउको दुख्दा 
अलि धेरै डर लाग्छ !!

अलिकति थकाई लाग्दा 
अलि धेरै बिसाईदिन्छु 
हजुरलाई सम्झेर 
अलिकति पिर पर्दा 
हजुरलाई नै सम्झन्छु 
पीरलाई बिर्सेर !!

अलिकति खुसि हुँदा 
अलि धेरै याद आउँछ 
अलिकति दुखि हुँदा 
हजुरको नै न्यास्रो जाग्छ 
अलि कति भन्दा भन्दै 
कति धेरै बानि परेछ है !!

अलि अलि गर्दा गर्दा
अलि धेरै भएछ 
हजुरको माया 
अलि अलि साँच्दा साँच्दै
कति धेरै भएछ 
हजुरको सपना 
अनि 
अलि अलि भन्दा भन्दै 
धेरै गाढा बसेछ 
हजुरसँगको प्रेम   !! 







Monday, July 13, 2020

जीवन



कोहि भन्छन सासले जीवन चलेको छ
अनि कोहि भन्छन जीवन छ र त सास चलेको छ
अनि मलाई लाग्छ,
मृत्युले जीवन चलेको छ,
मृत्यु हुदैनथ्यो त सायद सासको महत्व हुदैनथ्यो
अनि जीवनको माया हुदैनथ्यो
सायद मृत्यु नै हो जीवन !!!

एक मुठी सासमा अड्केको जीवन
हिजो आज र भोलिको जीवन
अनि २ दिनको जीवन
अहो, कति धेरै जीवन
अनि कति छोटो जीवन
त्यो भन्दा पनि
कति प्यारो जीवन
यदि जीवन लामो हुन्थ्यो त
सायद, प्यारो हुदैनथ्यो होला !!!

अनि जीवन जिउँदाका सपनाहरु
भोलिका सपनाहरु
पाउने आशाहरु, गुमाउने डरहरु
बितेका विगतहरु, अन्धकार भबिश्यहरु
यदि भबिष्य थाहा हुन्थ्यो त
न त डर नै हुन्थ्यो न त आश नै
अनि जीवन जीवन हुन्थ्यो त ?
सायद, नदेखिने भविष्य नै जीवन हो !!!

जीवन एक यात्रा, जीवन नै संघर्ष
जीवन दुखको सागर, पीडाको भण्डार
जीवन आँशु, जीवन रोधन
कठै कति दर्दनाक जीवन
कति आकुल ब्याकुल जीवन
तै पनि चल्दैछ जीवन
तै पनि मर्दैन जीवन
सायद पर्खिरहेछ पालो
ओठमा मुस्कान भर्नलाई
हुन सक्छ, पर्खाइ नै हो जीवन !!!



Thursday, May 24, 2018

हजुरलाई ......

मेरा खोसिएका खुसीको हाँसो हजुरलाई 
मेरा टुटेका नाताको गाँठो हजुरलाई
सपना त कैयौं देखें, सफलता खै कता गयो
मेरा रोकिएका पाइलाको बाटो हजुरलाई !!!

मेरा सुकेका ओठको रंग हजुरलाई
मेरो हारेको जिबनको उमंग हजुरलाई
हेर्दा हेर्दै सुन्दरता छोपिएका नजर मेरा
मैले नदेखेका आश्चर्य र दङ्ग हजुरलाई !!!

मैले हारेका युद्दको जीत हजुरलाई
मैले लेख्न छाडेका गीत हजुरलाई
इच्छा थियो जिबनलाई तारा सरि चम्काउने
मैले बाल्दा बाल्दै निभेको दीप हजुरलाई !!!

मेरा टाढीएका यार को साथ हजुरलाई
मैले थाम्न नसकेका हात हजुरलाई
सपनामै भएपनि जिउछु भन्थे जिन्दगीलाई
म निदाउन नसकेका रात हजुरलाई !!!

मैले जोगाउन नसकेको शान हजुरलाई
मैले लुटाएका सबै स्वाभिमान हजुरलाई
यति लामो जिन्दगानी लाग्थ्यो सङ्गै बिताउला
मेरो खरानीभै उडिजाने जिउ ज्यान हजुरलाई !!!