Sunday, October 18, 2026

दोबाटो

जिन्दगीको यात्रामा, एउटा नसोचेको दोबाटोमा छु 
खै कुन बाटो अँगाल्ने हो, आँफै भित्र म फाटोमा छु 
सोच्दै छु यहि अडिन्छु, समयले पो कतै पर्खन्छ कि 
मलाई बाटो देखाउने साथी कोहि पछी फर्कन्छ कि 

एक मात्र बाटो रोज्नु पर्ने,  युद्ध कत्रो घमासान थियो  
जे रोजे पनी आखिरमा गन्तब्य त एकै समसान थियो  
रोज्नु पनि यति बिघ्न कठिन खै कसरि हुन सक्छ 
रोजेको होइन छोडेको सम्झी मन धेरै रुन सक्छ 

सायद,
कुनै दिन रोजेको कुरा कुनै दिन छोडिन सक्छ 
सँगै हिड्ने पाइला पनि कुनै दिन मोडिन सक्छ 
छुटेको बाटो भेटिदा फेरी हास्ने हो की रुने हो ?
हराएको आफ्नो सामान फेरी पाए जस्तै हुने हो ?

जे छैन त्यहि अमुल्य, जो छैन त्यहि प्यारो लाग्छ 
बरदान नै पाउँदा पनि यो मनले फेरी अर्को माग्छ 
मन चंचल मन छुच्चो, डाहा गर्ने  मन नै होला   
सन्तुष्टि त भन्नु  मात्र, स्वार्थी शब्द सहि होला 

दुवै बाटो सहि लाग्छ  दुवै बाटो गलत लाग्छ 
दुवै बाटो आफ्नो लाग्छ आँफै बरु गलत लाग्छ 
शुन्यतामा, अन्ल्योलमा, उल्झनको पासोमा छु 
जिन्दगीको यात्रामा, एउटा नसोचेको दोबाटोमा छु !!!



No comments:

Post a Comment