Saturday, August 29, 2020

यदि मैले मेरो जिन्दगि बेचिदिएँ भने

यदि मैले मेरो जिन्दगि बेचिदिएँ भने
किन्न को आउला
कतिमा किन्ला
कता लैजाला ?
मेरो जिन्दगिलाई जिउँदो राख्ला
या मारिदेला
मेरो आँखालाई खुल्नदेला
या टालीदेला
यदि मैले मेरो जिन्दगि बेचिदिएँ भने !!

यदि मैले मेरो जिन्दगि बेचिदिएँ भने
मेरो नयाँ जिन्दगि कस्तो होला
फेरिएला वा उस्तै होला 
दुखको थुप्रो होला 
वा सुख जस्तै दुरुस्तै होला
हाँसोको मेला होला 
दुखको ठेला होला 
माया र सम्मान होला
घृणा र अपमान होला 
खै के होला ..
यदि मैले मेरो जिन्दगि बेचिदिएँ भने  !!

किन्नेले के सोचेर किन्ला 
मलाई देख्न किन्ला 
कि मलाई बेच्न किन्ला 
के मलाइ साहारा बनाउला 
कि आफ्नो आहारा बनाउला 
म बाट तृप्त होला ?
आफ्नो साम उठाउला 
मलाइ कतै लुकाउला ?
कि आफ्नो तलुवामा बिछाउला 
यदि मैले मेरो जिन्दगि बेचिदिएँ भने  !!

यदि मैले मेरो जिन्दगि बेचिदिएँ भने
किन्नेका लागि सायद ब्यर्थ हुनेछु 
महँगो मा किनेको सस्तो माल हुनेछु 
उत्तर बिनाका सवाल हुनेछु 
त्यसैले त 
यदि मैले मेरो जिन्दगि बेचिदिएँ भने
स्टिकर लागएर बेच्ने छु आँफुलाई 
र लेख्नेछु 
"साबधान 
तपाइको जिन्दगीको लागि हानिकारक हुन् सक्छु !!"






Monday, August 17, 2020

अलिकति ~ अलि धेरै !!

अलिकति टाउको दुख्दा 
अलि धेरै डर लाग्छ 
कतै हजुरसँग जिउने 
मेरा अमूल्य सपनाहरुलाई 
पनि दुख्छ कि भनि !!

अलिकति ज्वरो आउँदा 
अलि धेरै डर लाग्छ 
कतै मेरो मुटुभरिको 
हजुरको माया 
मैन सरि पग्लिन्छ कि भनि !!

अलिकति टाउको दुख्दा 
अलि धेरै डर लाग्छ !!

अलिकति थकाई लाग्दा 
अलि धेरै बिसाईदिन्छु 
हजुरलाई सम्झेर 
अलिकति पिर पर्दा 
हजुरलाई नै सम्झन्छु 
पीरलाई बिर्सेर !!

अलिकति खुसि हुँदा 
अलि धेरै याद आउँछ 
अलिकति दुखि हुँदा 
हजुरको नै न्यास्रो जाग्छ 
अलि कति भन्दा भन्दै 
कति धेरै बानि परेछ है !!

अलि अलि गर्दा गर्दा
अलि धेरै भएछ 
हजुरको माया 
अलि अलि साँच्दा साँच्दै
कति धेरै भएछ 
हजुरको सपना 
अनि 
अलि अलि भन्दा भन्दै 
धेरै गाढा बसेछ 
हजुरसँगको प्रेम   !! 







Monday, July 13, 2020

जीवन



कोहि भन्छन सासले जीवन चलेको छ
अनि कोहि भन्छन जीवन छ र त सास चलेको छ
अनि मलाई लाग्छ,
मृत्युले जीवन चलेको छ,
मृत्यु हुदैनथ्यो त सायद सासको महत्व हुदैनथ्यो
अनि जीवनको माया हुदैनथ्यो
सायद मृत्यु नै हो जीवन !!!

एक मुठी सासमा अड्केको जीवन
हिजो आज र भोलिको जीवन
अनि २ दिनको जीवन
अहो, कति धेरै जीवन
अनि कति छोटो जीवन
त्यो भन्दा पनि
कति प्यारो जीवन
यदि जीवन लामो हुन्थ्यो त
सायद, प्यारो हुदैनथ्यो होला !!!

अनि जीवन जिउँदाका सपनाहरु
भोलिका सपनाहरु
पाउने आशाहरु, गुमाउने डरहरु
बितेका विगतहरु, अन्धकार भबिश्यहरु
यदि भबिष्य थाहा हुन्थ्यो त
न त डर नै हुन्थ्यो न त आश नै
अनि जीवन जीवन हुन्थ्यो त ?
सायद, नदेखिने भविष्य नै जीवन हो !!!

जीवन एक यात्रा, जीवन नै संघर्ष
जीवन दुखको सागर, पीडाको भण्डार
जीवन आँशु, जीवन रोधन
कठै कति दर्दनाक जीवन
कति आकुल ब्याकुल जीवन
तै पनि चल्दैछ जीवन
तै पनि मर्दैन जीवन
सायद पर्खिरहेछ पालो
ओठमा मुस्कान भर्नलाई
हुन सक्छ, पर्खाइ नै हो जीवन !!!



Thursday, May 24, 2018

हजुरलाई ......

मेरा खोसिएका खुसीको हाँसो हजुरलाई 
मेरा टुटेका नाताको गाँठो हजुरलाई
सपना त कैयौं देखें, सफलता खै कता गयो
मेरा रोकिएका पाइलाको बाटो हजुरलाई !!!

मेरा सुकेका ओठको रंग हजुरलाई
मेरो हारेको जिबनको उमंग हजुरलाई
हेर्दा हेर्दै सुन्दरता छोपिएका नजर मेरा
मैले नदेखेका आश्चर्य र दङ्ग हजुरलाई !!!

मैले हारेका युद्दको जीत हजुरलाई
मैले लेख्न छाडेका गीत हजुरलाई
इच्छा थियो जिबनलाई तारा सरि चम्काउने
मैले बाल्दा बाल्दै निभेको दीप हजुरलाई !!!

मेरा टाढीएका यार को साथ हजुरलाई
मैले थाम्न नसकेका हात हजुरलाई
सपनामै भएपनि जिउछु भन्थे जिन्दगीलाई
म निदाउन नसकेका रात हजुरलाई !!!

मैले जोगाउन नसकेको शान हजुरलाई
मैले लुटाएका सबै स्वाभिमान हजुरलाई
यति लामो जिन्दगानी लाग्थ्यो सङ्गै बिताउला
मेरो खरानीभै उडिजाने जिउ ज्यान हजुरलाई !!!

Sunday, October 8, 2017

भोलि को अठोट

बिहानको चियाको चुस्की संगै
सपनाका टुक्राटाक्रीहरु  संगाल्दै
सोच्छु, हिजो राति सुत्ने बेलाको मेरो प्रतिज्ञा
आज देखि केहि गर्छु भन्ने सोच
जोस जाँगर ल्याउने अठोट , के भो ?
खै, सायद आज गर्न सकिन्न कि ?
हैन, भोलिबाट चाही पक्कै सुरु गर्छु  !!

प्रतेक रात जब बिस्तरामा पुग्छु
निन्द्रा को तन्द्रामा पुग्नु अघि
दिमागमा एउटै प्रश्न जन्मन्छ
आजको उपलब्धि के भो ?
र प्राय सधै उत्तर एउटै भेटिन्छ
एक दिन बुढो भैयो !!

जवाफ संगसंगै दिमागमा जोर पर्छ
थकित शरीर निदाउन खोज्छ
तर दिमागले अर्को प्रश्न गर्छ
व्यर्थको जिन्दगि कति जिउने
हो प्रश्न मात्र जन्मन्छ
तर जवाफ भेटिन्न
गर्ने त गर्ने तर के गर्ने ?

तब सम्झिन्छु बाल्यकाल देखिको सपना
एउटा सफल जिन्दगि, सुखी परिवार
शान, मान , बैभव र सम्वृद्धि
अनि लाग्छ, म केहि गर्नै जन्मेको हो
सामर्थ्य पनि छ म मा
अनि एउटा दृढ अठोट गर्छु

आदेश दिन्छु आफैलाई
अनि बिश्वस्त हुन्छु
भोलि नया भोलि हुनेछ
एउटा सुरुवात हुनेछ
गन्तब्य तर्फको बाटोमा
मेरो पहिले पाइला हुनेछ
अनि सपना साकार हुनेछ  !!

तर फेरी ,भोलि बिहानको चियाको चुस्की संगै
सपनाका टुक्राटाक्री लाइ संगाल्दै
सोच्छु, हिजो राति सुत्ने बेलाको मेरो प्रतिज्ञा
अनि फेरी लाग्छ ,,,
खै, सायद आज गर्न सकिन्न कि ?
हैन, भोलि बाट चाही पक्कै सुरु गर्छु  !!

Tuesday, March 28, 2017

म के चाहान्छु ?

म चाहान्छु,
रात रंगीन होस्
अनि दिन सुनौलो
मन चंगा आकाशमा
कैले बादल माथि उडिरहेको
कैले झरी संगै बर्सिरहेको
सप्तरंगी इन्द्रेणी झैँ
ओठमा मुस्कान छछल्कि रहेको !!!

म चाहान्छु,
सपना यथार्थ होस्
वा यथार्थ सपना झैँ बनोस
देख्न सकिने भबिस्य
फेर्न  सकिने बिगत
सुन्दर वर्तमान, सार्थक जीवन
समयको छोटो अध्याय, छोटो कहानी
खुसीको संसार हाम्रो अनि सफल हामी !!!

म चाहान्छु,
एउटा यस्तो साथी भेटियोस
जिबन साथी भेटियोस
जो संग यात्रा सहज बनोस
बाटो किन नहोस अप्ठेरो
रहोस जोश आँटिलो
सम्बन्ध सुमधुर, भरोसा बलियो
माया गाढा अनि प्रीत अनौठो  !!!!!


म चाहान्छु,
जिन्दगि किताब बनोस
हाँसो ठट्टाले भरिएको
आँशु हुन् खुसिका
कहानी हुन् मिलनका
अपसोच र वियोगमा  होइन
माया प्रेममा लेखिएको
ह्याप्पी एन्डीङ्गमा रचिएको !!!


Thursday, October 6, 2016

भोलि !!! कस्लाई के थाहा !!

आज मात्रै हो,
भोलि संगै, हुने छैन,
तिमिसंग रिसाउन !!
आऊ, संगै बस,
यस्तो क्षण, आउने छैन,
यी पल फेरी बिताउन !!!

तिमीले सोचेजस्तै, के भर यहाँ हुदैन कि
पर्खि बस्नु मात्रै, आशा पुरा हुदैन कि !!
उठ, साथ देउ
तिमि बिना, एक्लो छु म
नदेउ नयन, भिजाउन !!
आज, मात्रै हो,
भोलि संगै, हुने छैन,
तिमिसंग रिसाउन !!!

जिदगी यस्तै रैछ, जे हुनु छ भै हाल्छ,
छोड, सोच्न तिमि, रमाएरै यी पल जान्छ !!
समाऊ, हात मेरो,
एकपल मलाई, नछोड्नु है
मन को भारी बिसाउन !!
आज, मात्रै हो,
भोलि संगै, हुने छैन,
तिमिसंग रिसाउन !!!

कल्पनामा डुब्नुभन्दा वर्तमानमा बाँची हेर
त्यो मुटुका ढुकढुकी, यो मनसंग साटी हेर !!
बोल, एक दुइ शब्द,
खोज्दै छु म, ति शब्दमा
भावनालाई मिसाउन !!
आज, मात्रै हो,
भोलि संगै, हुने छैन,
तिमिसंग रिसाउन !!!